नियम ६६ग
नोक्सानी भई वा कम परिमाणका हुन आएको मालवस्तुको जाँचपास र महसुल सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ७ को उपदफा (३) बमोजिम नोक्सानी भई वा टुटफुट भई वा कम परिमाणमा मालवस्तु पैठारी हुन आएमा त्यस्तो मालवस्तुको जाँचपास हुनु पूर्व मालधनीले भन्सार अधिकृतलाई सो व्यहोरा उल्लेख गरी निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा त्यस्तो अवस्थामा मालवस्तु पैठारी हुन आएको स्पष्ट कारण र सो तथ्य पुष्टि हुने बीमा सर्भेयरको प्रतिवेदन, आधिकारिक निकायले सो व्यहोरा प्रमाणित गरिदिएको कागजात, स्थलगत मुचुल्का वा अन्य सान्दर्भिक र वस्तुनिष्ठ प्रमाण समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम निवेदन तथा प्रमाण कागजात प्राप्त हुन आएमा भन्सार अधिकृतले आवश्यक जाँचबुझ एवं विस्तृत भौतिक परीक्षण गरी नोक्सानी भएको वा मूल्यहीन भएको वा घटी परिमाणका पैठारी भएको पाइएमा सो व्यहोरा तथा मूल मालवस्तुको रुपमा प्रयोगमा नआउने भए पनि अन्य बैकल्पिक प्रयोगमा आउन क्ने वा पत्रुको रुपमा पुन प्रयोगनमा आउन सक्ने वा अन्य कुनै रुपमा व्यापारिक प्रयोजनमा आउन सक्ने वा नसक्ने व्यहोरा समेत प्रज्ञापनपत्रमा विस्तृत रुपमा उल्लेख गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मालवस्तुको वास्तविक अवस्था यकिन भएपछि सही अवस्था वा यथार्थ रुपमा पैठारी हुन आएको मालवस्तुमा लाग्ने महसुल लिई भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।
(५) टुटफुट भई पैठारी भए पनि उपनियम (३) बमोजिम वैकल्पिक प्रयोगमा आउन सक्ने भनी ठहर भएको मालवस्तुलाई भन्सार अधिकृतले छुट्टै घोषणा गराई अनुमानित भन्सार मूल्य निर्धारण गरी लाग्ने महसुल लिई जाँचपास गर्नु पर्नेछ ।
(६) मालवस्तु भन्सार कार्यालयमा आउनुपूर्व महसुल बुझाइसकेको कारणले उपनियम (३) बमोजिम असुल गर्नुपर्ने भन्दा बढी महसुल असुल भएको रहेछ र सम्बन्धित व्यत्तिले त्यस्तो बढी महसुल फिर्ता पाउन निवेदन दिएमा भन्सार अधिकृतले लिखित निर्णय गरी त्यस्तो बढी महसल सम्बन्धित व्यक्तिलाई फिर्ता दिन सक्नेछ ।
(७) यस नियम बमोजिम मालवस्तु जाँचपास भएको वा महसुल फिर्ता दिएकोमा सोको विस्तृत जानकारी भन्सार अधिकृतले तुरुन्त छिटो साधनद्वारा महानिर्देशकलाई दिनु पर्नेछ ।